• सोमवार, फेब्रुअरी 06, 2023
  • Mechinagar, Jhapa, Nepal
  • सम्पर्क
Logo थिंकर्स क्लब

कथा - बाह्रघरे रिसोर्ट एण्ड लज

Blog Image

वसन्त ऋतुको वैशाख महिना नयाँ वर्षसंगै नयाँ पालुवाले छपक्क ढाकिएका वनका रुख पातहरुलाई चिर्दै आइपुगेका बिहानीको सुनौला किरणले नदीका मोती दानाहरुलाई गज्जब संगले टल्काइरहेका थिए | शितल हावाको सुस्केरासंग ताल मिलाउँदै चराचुरुंगीहरु खुला आकाशमाथी सामूहिक नृत्य गरिरहेका थिए | वृन्दा नदीको दुई किनार जोड्ने त्यो झोलुंगे पुल पनि यसरी हल्लिरहेको थियो कि मानौं प्रकृतिको सुमधुर संगीतमा मन्त्रमुग्ध भई एउटी सुन्दर परीले आफ्ना पातला र लचिला कम्मर मर्काइरहेकी छे |  

पूर्वी तराईको चुरे क्षेत्रमा प्राकृतिक सौन्दर्यताको विचमा अवस्थित बाह्र घर परिवारको बसोबास भएको एकमात्र त्यो सानो गाउँको नाम थियो: डाँडागाउँ | तराईको अधिकांश भूभाग विकसित नै भएपनि त्यस गाउँ भने अझैपनि विकासका पूर्वाधारहरुमा पछी नै परेको थियो | यद्यपि प्राकृतिक सौन्दर्यताले भने सम्पन्न थियो | त्यहाँका प्राय सबै मानिसहरुको जीविकोपार्जन खेति किसानी नै थियो | त्यहाँका मानिसहरुलाई बिहान बेलुकाको छाक टार्न पाए र आफ्ना बाल बच्चाहरुलाई पढाउन पाए सबै थोक पुगेकै थियो | सुख दुखमा खुलेर एक अर्काको साथ दिन्थे, सानो भएपनि आपसी सद्भाव र मेलमिलापको त पर्याय नै थियो डाँडागाउँ |

बिहानीको पहिलो घामको किरणसंगै कान्छाकी जहान कान्छी उठेर नुहाईधुहाई गरी आँगन अगाडिको तुलसीको मोठमा पुजा गरेर "ए सानेका बा ! आज खेतमा जान अबेला भएन ? कति सुतेको ?" भन्दै भित्र पसिन | अझैपनि कान्छा नउठेको देखेर उनले कान्छाको बिछ्यौनानेर गएर छेउमा बस्दै आफ्नो भिजेको केश कान्छाको अनुहार नेरी लाँदै मायाले दविएको स्वरमा साउती मार्दै भनिन, "ए ! सानेका बा कति सुतेको, आज खेत नजाने ?" कान्छाले कान्छीको हात आफुतिर तान्दै भन्यो, "आज तिमि संगै मायाको खेति गर्दै बस्छु नी हुन्न ?" कान्छी लाजले भुतुक्कै हुँदै "थैट ! तपाई पनि" भन्दै जुरुक्क उठिन र " म बाबुलाई उठाउन गएकी तपाई पनि  उठ्नुस है अब" भन्दै सानेलाई उठाउन गईन | साने उनीहरुको ९ वर्षको छोरा हो | उनीहरु त्यो गाउँमा १० वर्ष अघि ताप्लेजुंगबाट आएका बार्हौं परिवार हुन | त्यहाँ  छँदा कान्छी अर्कैकी श्रीमती थिइन | जड्याहा पतिको अत्याचार सहँदै बसेकी कान्छी रूपकी बिछट्टै राम्री | त्यसबखत उमेरले ३२ वर्ष पुगेपनि जड्याहा पतिबाट कुनै बाल बच्चा नभएकाले शरीर पनि सुगठित अनि कशिलो नै थियो | कान्छा पनि उमेरदार जवान केटो हट्टाकट्टा हुनुको साथै रुपको पनि राम्रै थियो र मिठो बोलीबचन, असल स्वभावको आफ्नो उमेरका अरु अल्लारे ठिटाहरु भन्दा फरक किसिमको थियो | मेलापातमा जाँदा जाँदै कसो कसो आफूभन्दा ६ वर्ष सानो कान्छाले उनको सबै कुरा थाहा हुँदा हुँदै पनि मन पराउन पुगेछ | त्यसपछि उनीहरु भागेर डाँडागाउँ आइपुगेका थिए | करिब एक वर्षको संघर्षपछी त्यहाँ उनीहरु काठको २ तले टाँडे घर बनाएर बसेका थिए | त्यहाँ आएको एक वर्षमै उनीहरुको जीवनमा सानेको रुपमा थप खुशी अनि प्रेमको आगमन भयो | उनीहरु एक अर्कालाई असाध्यै माया गर्थे | समग्रमा तिन जनाको सानो सुखी परिवार थियो |   

कान्छा हातमुख धोएर बिहानीको चिया पिएर काँधमा हलो र जुवा बोकी तल्ला घरे काइँला बा र माथ्ला घरे गोरे दाईसंग सदा झैं खेत तिर लाग्यो | साने पनि हात मुख धोएर चिया खाजा खाँदै विद्यालयमा दिएको होमवर्क गर्न थाल्यो | कान्छी भान्छातिर आफ्नो काम गर्न थाली |

करिब ११ बजे हलो जोति सकेर खाना पर्खेर बसेका तिन जना आपसमा गफ गर्दै काइँला बा ले भने," केटा हो यसपाली पनि बेलामा बर्षा भएन भने त फेरिपनि मेहनत जति सबै खेरै जान्छ |"

"फेरी धेरै बर्षा हुँदा पनि वृन्दा रिसाएर बिगार गर्ली भन्ने पिर छ |" कान्छाले भन्यो |

काइँला बा ले भने, "त्यो पनि हो | ईश्वरले सबै देखेकै छन् | मापन गरेरै कृपा गर्लान कि भन्ने आश सम्म राखौं क्या रे !"  

"अस्ति चुनावका बेला त बाँध बाँधिदिन्छौं भनेका थिए, एकचोटी फेरी गाउँ अध्यक्षलाई निवेदन गर्ने कि ? एकचोटी कोशिस गरौँ न, मलाई हुन्छ भन्ने विश्वास छ |", गोरेले भन्यो |

कान्छाले भन्यो , "त्यो त हो, गोरे दाईले भने जस्तो सबै जना भएर एक पटक फेरी निवेदन गरौँ न त काइँला बा |"

काइँला बा ले भने, " मलाई हामी निमुखाको कुरा सुन्लान भनेर विश्वास त छैन तरपनि तिमीहरुको प्रयासमा सहयोग सम्म गर्छु |"      

अर्को दिन गाउँका सबै उमेरदार पुरुषहरु भेला भएर गाउँ अध्यक्ष समक्ष आफ्नो समस्या लिएर गए | अध्यक्षले "यसपालिको त सबै बजेट सडक स्तरोन्नति र कालोपत्रेमा विनियोजन भइसक्यो | तिमिहरुको त्यो गाउँमा मान्छेको बस्ती छ भन्ने सम्म पनि हामीलाई थाहा थिएन | अर्को पटक चाहिं बेलैमा सम्झाउनु पक्का बनाईदिउँला बाँध अहिलेलाई जाओ |" भन्दै रुखो स्वरमा पठाए |

निराश भएर फर्किंदै गरेको हुलको शुन्यतालाई तोड्दै बिर्खेले भन्यो, " कस्तो चाहिं लाज पचेको बेशरम रहेछ काइँला बा यो अध्यक्ष त, अस्ति चुनाबका बेला हरेक घर घरमा दुई हात जोडेर सबैलाई भोट माग्दै हिंडेको थियो अहिले त बस्ती छ भन्ने पनि थाहा छैन भन्छ |"

"यस्तै हो बिर्खे मन सानो नपार, कहाँ सुन्छन र यिनले हाम्रा कुरा | अत्तरको खुश्बु हिलोको गन्धसँग घिनाउँछ |" काइँला बा ले भने | (निराश उनीहरु यस्तै यस्तै गफ गर्दै घर फर्किए |)

भौगोलिक दृष्टिकोण र श्रोत साधनको उपलब्धताको हिसाबले कुनैपनि समस्या नभए ता पनि अझैपनि बिजुली बत्ति नपुगेको त्यस गाउँमा बेलुकीको खाना सबैले खाइ सकेर धन्दा सकेपछी तल भान्छा कोठाको दैलो लाएर हातमा टुकी बत्ती लिएर माथि कोठातिर चढ्दै गरेकी कान्छीलाई छेउमा आइ नपुग्दै बिहानको घटनाले चिन्तित भएर बिछ्यौनामा पल्टिएको कान्छाले त्यस दिनको घटना सविस्तार वर्णन गरिसकेर कान्छीलाई भन्यो, "कान्छी ! हाम्रो सानेलाई हामी खुब पढाएर ठुलो मान्छे बनाउनुपर्छ | हाम्रो नसुने पनि पछि हाम्रो छोराको कुरा सबले सुन्नेछन |"  कान्छीले टुकी निभाउँदै बाबुको छेउमा सुतेको सानेको केश सुम्सुम्याउँदै आफुपनि बिछ्यौनामा पल्टिदैं भनि, "हुन्छ नि सानेका बा ! पिर नमान्नु न हाम्रो छोरो खुब मिहिनेती छ | यसले पछी हाम्रो नाक राख्छ |" त्यस रात निकैबेर यस्तै यस्तै गफ गर्दै उनीहरु सुते | भोलिपल्ट सबेरै सदाझैं सबैजना आफ्नो आफ्नो दैनिक कामकाजमा लागे | डाँडागाउँका मानिसहरुको दिनचर्या यसरीनै चलिरहेकै थियो |

 

भदौ १३ गतेको दिन थियो | लगभग दश दिनदेखि अविरल भिषण वर्षा भइरहेको थियो | घर, आँगन, खेत, बाटो जता हेरेपनि चारैतिर पानी नै पानी थियो | वृन्दा नदि बढेर निकै माथि आइसकेको थियो | नदि छेउको जमिन कटानी भएर झोलुंगेपुल भत्किसकेको थियो | पानी कटाउने उचित व्यवस्थापन हुन नसक्दा त्यत्रो मेहनतले लगाएको फसल समेत सबै बर्बाद भइसकेको थियो |  फसल त गयो गयो अब यो वृन्दा नदीको बाढी घरसम्म आइपुग्दा परिवार नै सबै जोखिममा पर्छ भन्ने पिरले डाँडागाउँका सबै मानिसहरु त्रसित भइरहेका थिए | यता अघिल्लो हप्ता विद्यालयबाट घर फर्किंदा पानीमा भिजेर सानेलाई ज्वरो आएको अहिलेसम्म ठिक भइरहेको थिएन | बाहिर एकैछिन नरोकिई ठुलो पानी परेको र आवतजावत गर्ने झोलुंगेपुल समेत भत्किएकाले अस्पताल सम्म पनि जाने उपाय थिएन | कान्छा कान्छीको अथाह प्रेमको निशानी त्यो एक्लो छोरो सानेको ऐया आत्थाको कारुणिक चित्कार सुन्न नसकेर कान्छीले भगवानको नाम जप्दै सक्दो घरायसी उपचार गरिरहेकी थिइन् |

 "ए हजुर ! हेर्नुस न बाबुलाई त झन् साह्रो पारेजस्तो छ, त्यति मजाले हाँस्ने खेल्ने हाम्रो छोरो आज ६ दिन भईसक्यो उठ्नै सकिराको छैन | केहि गर्नुस न हजुर |" भरिएका आँखाका आँसु छ्चल्काउँदै दुखेको कण्ठबाट आवाज निकाल्दै कान्छीले भनि |         

विवश कान्छाले सान्तवनाको स्वरमा भन्यो,"नआत्तेउ न कान्छी तिमि, केहि हुँदैन ठिक भइहाल्छ नि हाम्रो छोरोलाई | पाथिभरा माताको कृपाले सबै ठिक हुन्छ |"

दिउँसोको १२:३० बजेको थियो | भित्रभित्रै असह्य छटपटी र अशान्तिले आक्रान्त भएको कान्छाले बाहिर बार्दलीबाट हेर्दा पानी अझै मुसलधारे परिरहेकै थियो | आँगनै तलको खाल्डो समेत पानीले भरिसकेर जमिन कटान गर्न थालिसकेको थियो | उता घरबाट करिब दुई सय मिटर जति मात्रको दुरीमा रहेको वृन्दा खोलाको आवाज पनि झनझन ठुलो हुँदै गइरहेको थियो | मुसलधारे वर्षा, खोलाको स्वाँ.... को ठुलो आवाज, सानेको दबिएको ऐया आमा ऐया बाबाको कारुणिक पुकार अनि कान्छा कान्छीको मलिन अनुहार भित्र मडारीएको डरको कालो बादलसंगै       निर्विकल्प र लाचारीताले एक किसिमको शून्यता छाएको थियो | डाँडागाउँको हरेक घरमा यस्तै दृश्य थियो | भगवानको नाम जप्न शिवाय अरु कुनै विकल्प थिएन उनीहरुको सामुन्ने | २:३० भइसकेको थियो, अवस्था झन् भयाभह बन्दै गइरहेको थियो, लाचार कान्छा छटपटीदै भित्र बाहिर गरिरहेको थियो |

"साने....सानेको बा....!" अचानक घन्टौंको मौनतालाई तोड्दै बडो कष्टका साथ काँपेको ठुलो स्वरमा कान्छीले कराइन | बार्दलीमा पुगेको कान्छाको मन चिसो भयो, त्यसै हात खुट्टा सबै गलेर आए | उसलाई दौडेर कोठा भित्र पस्न पाँच सेकेण्ड भित्रमा पाँच पाइला सार्न समेत पाँच पहाड चढेको भन्दा बढी संघर्ष गर्नुपर्यो | कलिलो कोपिला फक्रिन नपाउँदै ओइलायो | साने चुपचाप भइसकेको थियो | उसले न आमा खोज्दैथियो न बाबा | एकाएक धर्ती थरथर गर्दै काँप्न थाल्यो | छानो, भित्ता, टुकी, सानेका किताब कापी, सानेलाई पढाउन भनि पैसा जम्मा गर्न राखेको खुत्रुके, तख्तामा राखेका कान्छीका सिन्दुरको बट्टा, लाली, मुन्द्री, फुली, ऐना, काँटिमा झुण्डिएको मंगलसुत्र, भुइँमा लोती छिन्न लागेको कान्छाको चप्पल सबै एकाएक थरथर गर्दै काँप्न थाल्यो | पछाडीबाट कानैमा आएर आकाशवाणी गर्ने यन्त्रबाट ठुलो आवाजले स्वाँ........ गर्दै कराए जस्तो भयो, फर्केर हेर्न टाउको मात्र के फर्काउन लागेको घरै सहितलाई वृन्दाले अँगालोमा बेरिन | एकाएक हेर्दाहेर्दै सबै बगायो, सबै भत्कायो, पुरा गाउँ नै रित्यायो | बाह्र घर कता बिलायो बिलायो | कोसौँ दुर सानेको कक्षा ४ को मेरो सेरोफेरो किताब र मयूरको प्वाँखसंगै चेपेर राखेको "हिजो राति म निदाए जस्तो मात्र गरेर बा आमाको कुरा सुनिरहेको थिए | बा ले भन्नु भाको मलाई ठुलो मान्छे बन्नु छ रे, आमाले भन्नु भाको मैले बा आमाको नाक राख्छु रे | म मेहेनत गरेर ठुलो मान्छे बन्छु अनि मेरो बा आमाको नाक राख्छु |" भनि लेखेको एउटा कापीको बिच पाना संगसंगै तैरीरहेको थियो | सानेको सुनौलो भविष्य तैरीरहेको थियो, कान्छा कान्छीको अगाध प्रेम र सपना तैरीरहेको थियो, काइँला बा को बुढेसकाल तैरीरहेको थियो, गोरे दाईको विश्वास तैरीरहेको थियो, बाह्र घरको बाह्र वटा कहानी तैरीरहेको थियो |

" १७ वर्षअघि घटेको यही घटनाको सम्झानामा यस क्षेत्रको नाम बाह्रघरे सिमसार तथा पर्यटकीय स्थल रहन गयो बाबु |" भन्दै म चिया पिउन पसेको पसलको ती बुढा बा ले कथाको अन्त्य गर्नुभयो | नयाँ नयाँ ठाउँ घुम्न र नयाँ नयाँ  मान्छेहरुका कथा सुन्न मन पराउने मलाई यस क्षेत्रको कथाले असाध्यै मन छोयो र लेख्न बाध्य बनायो | उक्त घटना पश्चात त्यस ठाउँमा फेरी कहिल्यै बस्ती बसेनछ | अहिले त्यहाँ बाँध बनिसकेको छ, बिजुली बत्ती र सडकको पनि राम्रो सुबिधा पुगेको छ | स्थानीय सरकारले त्यस ठाउँलाई आफ्नो स्वामित्वमा लिई सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गरेको रहेछ | मान्छेको राम्रै आवतजावत हुँदोरहेछ | त्यसबेलाका गाउँ अध्यक्षले अहिले त्यहाँ सुविधा सम्पन्न बाह्रघरे रिसोर्ट एण्ड लज खोल्नुभएको रहेछ, व्यापार राम्रै हुँदोरहेछ | तपाइँहरु पनि एकपटक अवस्य घुम्न जानुहोला |

*नोट: यस कथाको पात्र, घटना तथा सम्पूर्ण परिवेश पूर्ण रुपले काल्पनिक हुन |

Author Image
लेखक : Aayushman Niroula