हिजोआज बालबालिकामा मनोसामाजिक दृष्टिकोणले हेर्ने हो भने अत्यन्तै असामान्य र विगतको तुलनामा बदलिँदो व्यवहार देख्न र महसुस गर्न सकिन्छ।
आफूभन्दा ठूलाको कुरा नटेर्ने,एकान्त मनपराउने,आफूलाई बन्दकोठा भित्र रहन बढी रुचाउने,घरमा आउने आफन्त नातेदार तथा पाहुना सँग कुरा गर्न नरुचाउने वा झर्को मान्ने जस्ता व्यवहार देखाउने बच्चा प्रशस्तै देखिन थालेका छन्।
लामो समय सम्मको लकडाउन , घर बाहिर निस्कदा कोरोनाको त्रास र निकै लामो समयसम्म विद्यालयमा भौतिक उपस्थिति नभई अनलाइन मार्फत पढाइको बानी बस्नुले अभिभावकहरुले बच्चाका यी व्यवहार सामान्य तरिकाले लिन थालेको पाइन्छ।
पढाइको ढाँचामा आएको यो बदलाव सँगै बच्चाहरूलाई मोबाइल तथा इन्टरनेट सहितको कम्प्युटर अनिवार्य आवश्यकताको साधन बनिसकेको छ। तर के उनीहरू बाट यी उपकरणको सही सदुपयोग भइरहेको छ त? यो प्रश्न अभिभावक र शिक्षक शिक्षिका लाई।
बच्चाहरूमा मोबाइलफोनको बढ्दो प्रयोग सँगै उनीहरूमा यसको नराम्रो लत बसिसकेको अवस्था छ। पढाइ को अलावा अनलाइन च्याटिङ,गेमिङ, विशेष किशोरावस्थाका बालबालिकामा प्रेम स्नेहको भावना सुरुहुने,आदि जस्ता कारणहरुले उनीहरू हरबखत मोबाइलमै सीमित भई बाहिरी संसारको महत्व कम राख्ने र घरकै सदस्य संग समेत बोल्न नचाहने र आफ्नै संसारमा व्यस्त हुने र त्यस्तो समयमा उनीहरुलाई बोलाउँदा अत्यन्तै चिडिने र रिस व्यक्त गर्ने बच्चा अहिले सामान्यरुपमा हरेक घरमै भेटिन्छन्।
विगत ५ वर्षको तथ्याङ्क हेर्दा १० प्रतिशत आत्महत्याका केसमा बढ्दो उमेरका बालबालिका रहेको तथ्याङ्कले बताउँछ। जसमा कुनै जटिल ठोस कारण भने हुँदैन।
यी माथि उल्लेखित बच्चाहरुका असामान्य बानीलाई सामान्य मानेर अघिबढे भविष्यको प्रतिस्पर्धात्मक समयमा उनीहरुलाई आफ्नो खुट्टामा उभिन हम्मे-हम्मे नपर्ला भन्न सकिन्न।
यी भए समस्या, अब यसको समाधान के हुन सक्लान्? कसरी खोज्ने?
बालबालिका लाई सबैभन्दा नजिक बाट चिन्ने र अछिन्न माया गर्ने उनीहरुका अभिभावक नै हुन्। तर माथि भनिए अनुसार अहिले बच्चा र अभिभावक बीचको दूरी बढ्दो छ। तसर्थ, अभिभावकहरुले आफ्नो व्यस्तताका बावजूद पनि आफ्ना नानीलाई केही गुणस्तरीय समय र प्रेरणा मात्रै दिन सके पनि सो दूरी अलि कम फराकिलो बान्न सक्दछ। बच्चाहरु लाई मोबाइल स्क्रीन बाहिरको दुनियामा घुलमिल गराई सो को महत्व बारे अन्तरमन देखि उत्सुकता जगाउने र आफ्नो मनोबल उच्च राख्न प्रेरित गर्नु अति आवश्यक हुन्छ। उनिहरु सँग मित्रवत ब्यवहार गरि उनिहरुका बिचार, गुनासा, खुसी आदिमा आफुपनि सहभागी भई उनिहरुमा हौसला जगाउन सके अझ उनीहरु सँग नजिकिदै जान सकिन्छ। विद्यालय स्तरबाट पनि हरेक बच्चाले अब्बल नम्बर ल्याउनै पर्ने दबाब दिनको सट्टा उसलाई हारेपनि पुनः उच्च मनोबलकासाथ उठ्न, अघि बड्न, र जीवनउपयोगी र गुणस्तरीय शिक्षा सिकाइ भोलि समाजमा उभिनसक्ने व्यक्ति उत्पादन गर्नका लागि प्रत्येक अभिभावकहरुले भूमिका खेल्न जरुरी छ।