Logo थिंकर्स क्लब

इमानदारीता हराएको समाज  

Blog Image

कुनैपनि मानिस यस धर्तीमा जन्मँदै गर्दा उसले अबोध सौम्यता बाहेक केहीपनि लिएर आएको हुँदैन | अर्थात् सत्यता नै उसको जन्मजात आत्मसिद्ध स्वभाव हो | तरपनि आज संसारमा झूटोपना र बेइमानीले यति हदसम्म जरा गाडेको छ कि सत्यता र इमानदारीताको अस्तित्व दिनानुदिन लोपोन्मुख बन्दै गइरहेको छ | अझ हाम्रो नेपाली समाज त झन् भयावह अवस्थामा छ भन्दा खासै अतिशयोक्ति नहोला | आज हाम्रो समाजमा हुने गरेका जतिपनि आपराधिक क्रियाकलाप, भ्रष्टाचारदेखि लिएर अशान्ति, तनावग्रस्त जीवनशैली, एकले अर्काप्रतिको शत्रुतापूर्ण व्यवहार, वैरभाव, दुराचार, व्यभिचार जे जति छन् तिनको मुख्य कारण या उपज भनेको नै आफ्नो नैतिक मूल्य मान्यता र इमानदारीतालाई लत्याइ अरु सँगसँगै स्वयम् आफ्नो आत्मालाई समेत झूट र बेइमानीले ढाक्दै जानु हो | जब मान्छेले एकपछि अर्को गर्दै झूट र बेइमानीमा सहज सफलता हासिल गर्न थाल्दछ तब ऊ अपराधको पहिलो खुड्किलो चढ्नका निम्ति तयार भइसकेको हुन्छ | उसको मनोबल दह्रो बन्दै गइरहेको हुन्छ | मैले यसो भन्दै गर्दा हरेक झूट बोल्ने मान्छे अपराधी नै हुन्छन भन्ने पनि होइन तर हरेक अपराधीको अपराधलाई भने झूटले पक्कै प्रभाव पारेको हुन्छ |

 

आखिर मान्छेले किन झूटो बोल्छ त ?

किन बेइमानी गर्छ त ?

जुनसुकै झूट वा बेइमानीको पहिलो सुरुवात मूल परिस्थितिको यथार्थतालाई स्विकार्न नसकी, परिस्थितिको प्रतिकूलतालाई आफ्नै मनले निर्धारण गरेको अनुकूलताको अवस्था गलत ढंगले प्राप्त गर्नको निम्ति देखाउने अग्रसरताले हुन जान्छ | यसलाई स्पष्ट बुझ्नका निम्ति केही उदाहरणलाई हेरौँ: कुनै एक निकायमा काम गर्दै भाडामा कष्टले आफ्नो परिवार सहित जीवन बिताइरहेको एक कर्मचारीले आफ्नो आर्थिक अशक्तताको यथार्थलाई स्वीकार्न नसकेर उसको मनले सजाएको आफ्नै घर बनाएर बस्ने सपना पुरा गर्नका निम्ति भ्रष्टाचार तर्फ अग्रसर हुन सक्छ र उक्त कर्मचारी कार्यरत निकायमा सेवा प्राप्तिका निम्ति जाने कुनै सेवाग्राही जो आफ्नो गलत प्रक्रियाको यथार्थलाई स्विकारेर सच्याउनको साटो उसलाई घुस दिएर काम गराउन सजिलो ठान्दछ | त्यसैगरी, कुनै एक नेता जसले यथार्थ परिस्थितिलाई स्विकार्दा सत्ता शक्ति गुमाउँछु भन्ने भय वा सत्ता शक्ति प्राप्त गर्नको निम्ति कुनै बखतमा आफ्नो क्षेत्रको बेरोजगारी, कमजोर स्वास्थ्य सेवा लगायतका समस्याहरुको समाधान गरेको छु वा गर्छु भनेर झूटो ठोकुवा वा बाचा गरेको हुन्छ त्यही नेता आँफै वा आफ्नो परिवार सदस्य विरामी पर्दा भने स्वास्थ्य सेवाका निम्ति अन्यत्र गइरहेको हुन्छ, आफ्नो सन्तानलाई भने उचित रोजगारीको अवसरका निम्ति अन्यत्र विकसित ठाउँमा पठाइरहेको हुन्छ | अर्थात् जतिबेला आफूमा आइपर्छ तब भने ऊ आँफैले गर्ने वा गरेको विकासमाथि पनि भरोसा गर्न सक्दैन | त्यसैगरी, उक्त नेताको कार्यकर्ता जसले आफ्नो दलप्रतिको बफादारिता या निगाहमार्फत भविष्यमा प्राप्त हुन सक्ने सम्भावित लाभका निम्ति आफ्नो नेताको त्यस किसिमको झूट वा बेइमानीलाई स्वीकार्न सक्दैन र फेरिपनि जव चुनाव आउँछ तब उसैलाई जिताउनका निम्ति लागि परिरहेको हुन्छ | उल्लेखित उदाहरणमा भएका कर्मचारी, सेवाग्राही, नेता, कार्यकर्ताहरूको स्वभावलाई नियाल्ने हो भने ती व्यक्तिहरुले परिस्थितिलाई राम्रोसँग विश्लेषण गरेर, फाइदा बेफाइदालाई राम्रोसँग केलाएर मात्र झूट वा बेइमानीलाई सारथि बनाएको देखिन्छ | यसलाई समग्रमा भन्नुपर्दा जुन झूटले फाइदा गराउँछ त्यस्तो झूट बोल्न मान्छे हत्तपत्त हिचकिचाउँदैन | मान्छेको यस्तो स्वभावलाई “सिम्पल मोडेल अफ रेशनल क्राइम” अन्तर्गत राम्रोसँग विश्लेषण गरिएको छ | उक्त मोडेल अनुसार कुनैपनि व्यक्तिले त्यस किसिमको झूटबाट हुने कुनैपनि अपराध वा बेइमानी गर्नुपूर्व ३ वटा कुरालाई आधार मानेर मात्र अन्तिम निष्कर्षमा पुगेको हुन्छ | १) अपराध पश्चात हुने फाइदा वा लाभको परिमाण २) पकडाउ पर्ने सम्भाव्यता वा जोखिम ३) अपराधको हुन सक्ने सजाय | यसरी यी तीनवटै आधारलाई विश्लेषण गरेर पहिलो(फाइदा)लाई दोश्रो र तेस्रो (मूल्य) सँग तुलना गरे पश्चात मात्र एक व्यक्ति त्यसको निम्ति तयार हुन्छ | हामीले हाम्रो समाजमा नियालेर हेर्यौं भने हरेक क्षेत्रमा कैयौँ यस्ता उदाहरणहरु भेट्छौँ जसले कुनै न कुनै रुपमा हाम्रो समाजलाई खोक्रो पार्दै गइरहेको छ | लगभग हरेक व्यक्ति कुनै न कुनै ढंगले दिनहुँजसो ती उदाहरणका पात्र बनिरहेका हुन्छन् |

 

मान्छेको झूट त्यतिबेला सम्म सत्य नै हुन्छ जतिबेला सम्म उसको झूट पकडाउ पर्दैन | तर मान्छेले अरुको अगाडी जति नै सफलतापूर्वक झूटलाई लुकाए ता पनि आफ्नो मनसँग भने कहिल्यै लुकाउन सक्दैन | उसको अन्तर्मनको कुनामा कहीँ न कहीँ अवचेतन अवस्थामा त्यस प्रतिको हीन भाव आजीवन गडिएर रहेको हुन्छ जसले उसलाई बेला बखतमा झस्काइरहन सक्छ | कहिलेकाहीँ आफूसँगै बोलेको केहि क्षणिक झूटले भने असल उद्धेश्यसँगै आत्मसन्तुष्टि समेत प्राप्त हुने गर्दछ | जस्तैः एउटा मञ्चमा उभिएर बोल्न लाग्दा आत्तिएको वक्ताले आफ्ना अगाडी भएका सबै दर्शकहरु आफूभन्दा कम जान्ने हुन भनेर मनलाई झूटो आश्वासन दियो भने उसको आत्मविश्वास बढ्न सक्छ जसले गर्दा उसलाई आफ्नो विचार निर्धक्कसँग राख्न सहज महसुस हुन सक्छ | यसरी आत्मविश्वास बढाउनका लागि केही क्षणको निम्ति आफैँसँग बोलिएको झूट भने बेइमानी नभएर मात्र एउटा कला हो |         

 

एउटा झूट ढाक्नका निम्ति अरू धेरैवटा झूटको आवश्यकता पर्दछ | कतिपय अवस्थामा मान्छेले आफू एक्लै झूट बोल्दैछ वा बेइमानी गर्दैछ भने उसलाई ज्यादा भय हुन्छ तर आफूसँगै त्यसमा अरु साथी सामेल भयो भने उसले सहज महसुस गर्दै जान्छ | त्यसैगरी कसैले झूट वा बेइमानीले जीवनमा ज्यादा सफलता हासिल गरिरहेको छ भने एउटा इमानदार व्यक्तिलाई पनि त्यसप्रति लालच जाग्न सक्ने र मौका मिलेको खण्डमा बेइमानीतर्फ अग्रसर हुने सम्भावना प्रबल रहन जान्छ | वास्तवमा इमानदारीता कसैको पनि असफलताको कारण हुँदैन तर बेइमानी सफलताको कारण बन्यो भने त्यसले इमानदार व्यक्तिलाई समेत सोच्नमा मजबुर बनाउन सक्छ | तसर्थ झूटोपना वा बेइमानी एक हिसाबले तीब्र फैलने बिमारी जस्तै हो जसले आज हाम्रो समाजलाई पुरै छोप्दै गइरहेको छ | जुनसुकै क्षेत्रमा काम गर्ने या चासो राख्ने अधिकांशको प्रेरणा, चाहना या अझ भनौं भने लगभग सफलताको परिभाषा भनेको नै त्यस क्षेत्रको उच्च पदस्थ व्यक्ति हुन्छ | तर जब उसले बन्न चाहेको जस्तो व्यक्तिले नै त्यो उचाइमा पुग्न बेइमानीको सहारा लिएको हुन्छ वा बेइमानी गरिरहेको हुन्छ भने उसले इमानदारीको बाटो रोज्ने सम्भावना कति नै रहन्छ होला र ? एक अध्ययनका अनुसार सामान्य व्यक्तिको तुलनामा एक बौद्धिक र रचनात्मक (क्रिएटिव) व्यक्तिमा झूट बोल्न सक्ने क्षमता ज्यादा  रहेको हुन्छ | उसले झूटो कुरालाई पनि कसैले थाहा नपाउने गरी कुशलतापूर्वक सत्य सावित गर्न सक्ने क्षमता राख्दछ | तर यसको अर्थ यो होइन कि हरेक बौद्धिक, रचनात्मक व्यक्ति झूटा वा बेइमान हुन्छन् | 

   

हालसालैको ट्रान्सपारेन्सी इन्टरनेशनलका अनुसार भ्रष्टाचारमा नेपाल १८० देशमध्ये ११० औँ स्थानमा रहेको छ, महालेखा परीक्षकको कार्यालयको आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारले सरकारी कार्यालयहरुको कुल बेरुजु रकम मध्येबाट असुल गर्नुपर्ने रकम मात्र करिब ३० अर्ब रहेको छ र गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या हालसम्मकै उच्च ७ लाख ७१ हजार ३२७ पुगेको छ | त्यसैगरी अन्य गैरसरकारी संघ संस्था तथा निकायहरु मार्फत हुने बेइमानी र अनियमितताको आँकडा पनि सायद उस्तै होला | मैले यी तथ्यांकलाई एकसाथ किन जोडेको हो भने नेपालमा जति रकम अप्रत्यक्ष रुपमा भ्रष्टाचार र अनियमिततामा खपत हुन्छ त्यती रकमलाई यदि रोजगारीको अवसर सिर्जना गर्नमा मात्रै खर्च गर्ने हो या नेपालमै श्रम बापतको उचित पारिश्रमिक वितरणमा खपत गर्ने हो भनेपनि दिनानुदिन विदेशीँदै गएको युवा जनशक्तिको यो कहालीलाग्दो आँकडा सायद कम गर्न सकिन्थ्यो होला | त्यही व्यक्ति विदेशमा काम गर्दा इमानदारीपूर्वक गर्नु र नेपालमै गर्दा बेइमानीपूर्वक गर्न बाध्य हुनु पछाडीको एउटा कारक तत्व श्रम वापतको अनुचित पारिश्रमिक पनि हो |       

 

आज एक-एक गर्दै हरेक क्षेत्रमा झूट र बेइमानीले मात्र काम सम्भव हुने, झूट र बेइमानीको मात्र बोलवाला हुने सञ्जाल खडा भइसकेको छ | मान्छेले अरुबाट सत्यता, इमानदारीता, नैतिकताको अपेक्षा त राख्छ तर जब आफ्नो पालो आउँछ तब उसले ती सबै कुरालाई पाखा लगाएर केवल आफ्नो स्वार्थसिद्धितर्फ अग्रसर हुन्छ | आजको दिनमा सच्चाइलाई बोकेर हिड्नु त मरिन्छ भन्ने थाहा हुँदाहुँदै जानीजानी आत्महत्या गर्नु सरह भइसकेको छ | यस्तो हुनु पछाडिको अर्को प्रमुख कारण भनेको सफलताको परिभाषा विलासीतामा परिणत हुनु पनि हो | आज कुनैपनि व्यक्तिको सफलताको मापन उसको भोग विलासीतालाई मध्यनजर गरेर गरिन्छ र त्यही सफलता हासिल गर्नका निम्ति मानिस हर कसुर गर्न लागि परिरहेको हुन्छ | शुरुवातमै म झूट बोल्दिन भनेर प्रतिवद्धता जनाउन लगाइएका र प्रतिवद्धता नजनाएका व्यक्तिहरूका बीच गरिएको एक प्रयोगमा प्रतिवद्धता नजनाउने व्यक्तिहरूको तुलनामा शुरुमै प्रतिवद्धता जनाउने व्यक्तिहरूले कम झूट बोलेको नतिजा प्राप्त भएको थियो | अत: जुनसुकै क्षेत्रमा कार्यरत व्यक्तिलाई समय समयमा यदि उसको नैतिक मूल्य मान्यता याद दिलाईरहने हो वा उसलाई प्रतिवद्ध बनाइरहने हो भने पनि त्यसले केही हदसम्म सकारात्मक नतिजा हासिल गर्न सघाउ पुर्याउने थियो होला | यद्यपि नैतिक मूल्य मान्यता आज केवल विद्यालयका पुस्तकमा मात्र सीमित बन्दै गइरहेको देखिन्छ | इमानदारीता हराएको आजको हाम्रो समाज ज्यादा प्राक्टिकल बन्ने चक्करमा नैतिक मूल्य मान्यतालाई कुल्चिँदै गइरहेको छ जबकी तिनले नै व्यक्तिको जीवनलाई वास्तवमा मूल्यवान बनाउँछ |   

 

लेखक: आयुष्मान निरौला      

Author Image
लेखक : Aayushman Niroula